उत्कृष्ट रक्षापंक्तिलाई सफलता

शुक्रबार, १८ जेठ २०७५, १६ : ५६ नागरिक

२००६ मा जर्मनीमा सम्पन्न  विश्वकपमा इटालीका खेलाडीको टिम भावना र मिहिनेत उपाधिका लागि हकदार बन्यो । उपाधि भन्दा पनि फ्रान्सका भेट्रान जिनेदिन जिदानले फाइनलमा इटालीका मार्को माटेराजीलाई गरेको ‘हेडबट’ (टाउकाले ढल्नेगरी छातीमा गरेको प्रहार) ले बढी चर्चा पाएको विश्वकपमार्फत इटाली चौथो विश्व च्याम्पियनसिपको ताज पहिरिन सफल भयो । हेडबटबापत रातो कार्ड पाउनाका बावजुद जिदानले एडिडास गोल्डेन बुटको पुरस्कार जिते पनि इटालियन टोलीले गरेको मिहिनेतको सवैले प्रशंशा गरे।

युभेन्ट्सबाट उच्च सफलता हासिल गरेका मार्सेलो लिप्पीको नेतृत्वमा रहेको इटालीले विश्वकप जित्दासम्म जर्मनीमा बेग्लै खालको प्रभाव जमायो । हुनत पछि खेल मिलेमतो काण्डमा दोशी सावित भएपछि लिप्पीले युभेन्ट्समा जितेका उपाधि समेत खोसियो, तर विश्वकपमा भने उनको टोलीले उपाधि जित्दा त्यस्तो केही भएन । विश्वकपको उपाधि जित्दासम्म टोलीका २३ मध्ये २१ खेलाडी मैदान उत्रिए भने १० जनाले गोल गरे।

गोलकिपर जियानलुईजी बुफोन र कप्तान फाबियो कानाभारोको सेरोफेरोमा रक्षापंक्तीले सवैभन्दा उत्कृष्ट प्रदर्शन गर्याे। विश्वकप इतिहासमै सवैभन्दा जब्बर रक्षापंक्तीका रुपमा इटालीयन टोलीले आफुलाई प्रमाणित गर्दा जम्मा दुई गोल खायो । त्यसमा एउटा आत्मघाती गोल थियो भने अर्को पेनाल्टीमा भएको थियो । एन्ड्रिया पिर्लो र गेनारो गाटुसोको तालमेलले मिडफिल्डलाई छरितो र सशक्त बनाएको थियो । जहाँ जियानलुका जाम्ब्रोटा र फाबियो ग्रोसोको साथले इटालियन मिडफिल्डलाई पनि पुर्णता दिएको थियो। 
ग्रोसोले सेमिफाइनलमा गरेको उत्कृष्ट गोलमा आयोजक जर्मनीलाई पाखा लगाएर उपाधि भिडन्त पक्का गरेको इटालीले यही संस्करणमार्फत पेनाल्टी सुटआउटको भुत पन्छाउन पनि सफल भयो । फाइनलमा जिदानप्रेरित फ्रान्ससंग निर्धारित समय १–१ को बराबरी खेलेपछि पेनाल्टी सुटआउटमा इटालीले ग्रोसोकै निर्णायक गोलमा उपाधि जितेको थियो । १९९४ को फाइनलसहित विश्वकपका विगतका तीन संस्करणमा पेनाल्टी सुटआउटमा नसोचेको दुर्भाग्य भोगेको इटालीले पेनाल्टी सुटआउटमा विजय पाएको यो पहिलो अवशर थियो। 

यो विश्वकपले इटालियन सफलताको कथा मात्र कोरेन, जर्मन प्रशिक्षक योर्गान क्लिन्सम्यानको युवा टोलीले तेस्रो स्थान हासिल गर्दा देखाएको आक्रामक फुटबल पनि यो स्रस्करणको विशेषता बन्यो । प्रतियोगितामा सवैभन्दा बढि १४ गोल गरेको आयोजका लागि एडिडास गोल्डेन सु विजेता मिरोस्लाभ क्लोजले पाँच गोल गरे भने जिलेट उत्कृष्ट युवा खेलाडी घोषित लुकास पोडोलस्कीले तीन गोलमा नाम लेखाए । उपाधिका रुपमा सफलता पाउन नसके पनि क्लिन्सम्यानको टोलीले जर्मनी २००६ को भावनासँग सम्पूर्ण जर्मनीलाई अन्तिमसम्म बाध्न सक्नुलाई पनि ठूलो सफलताका रुपमा लिइएको छ। 

फ्रान्सले प्रतियोगितामा जिनेदिन जिदानको प्रेरणा पुनः पाउदा स्पेन र ब्राजिलजस्ता महाशक्तीलाई पाखा लगाउदै उपाधि भिडन्तसम्म पुग्यो । विश्वकपपछि संन्यासको औपचारिक घोषणा गरिसकेका ३३ वर्षिय भेट्रानको उच्च प्रतिभावान प्रदर्शन, अनुभव र कडा मिहिनेतले फ्रान्सलाई फाइनलको बाटोमा डोहोर्यायो भने उनी स्वयमले चाही एडिडास गोल्डेन बलको उपाधि जिते । आठ वर्षअघि फाइनलमा ब्राजिललाई हराएर उपाधि जित्दा दुई गोल गरेका जिदानले २००६ को फाइनलमा माटेराजीलाई हेडबट गरेबापत रातो कार्ड पाउनुअघि इटालीबिरुद्ध पनि गोल गरेका थिए । तर रातो कार्ड खाएर मैदान छोडेको खेल हार्दै उपाधि गुमाउन पुग्दा भने अन्तर्राष्ट्रिय फुटबलबाट उनको बिदाई सुखद हुन सकेन। 

पोर्चुगलका स्टार विंगर क्रिस्टियानो रोनाल्डो ब्यक्तीगत रुपमा चम्किने अर्का खेलाडी थिए । उनकै उच्च प्रदर्शनले टिमलाई १९६६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलसम्म पुर्याएको थियो । २००२ मा ब्राजिललाई उपाधि जिताएका पोर्चुगलका प्रशिक्षक लुइस फिलिप स्कोलारी लगातार दोस्रो पटक विश्वकपको फाइनल पुग्ने उद्धेश्यमा थिए, तर अन्तिम चारको भिडन्तमा फ्रान्ससँग निराश भएपछि टोलीको यात्रामा पूर्णविराम लाग्यो। 

सेमिफाइनलमा सबै युरोपका टिम पुगे पनि अन्यले केही स्मरणयोग्य क्षण छोडेर गए । जर्मनीसँग पेनाल्टी सुटआउटमा पराजित भएर घर फर्किनुअघि अर्जेन्टिनाले उत्कृष्ट टिम खेलको प्रदर्शन गर्याे। सर्बिया एण्ड मोन्टेनेग्रोमाथी ६–० को विजय पाउदा अर्जेन्टिनाका स्टेबान काम्बियासोले २४ पासपछि गोल गर्दा उत्कृष्ट फुटबलको नमुना प्रस्तुत गरेको थियो । यसैगरी बलियो मेक्सिकोलाई पराजित गर्दा म्याक्सी रोडरिग्वेजले भलीमा गरेको गोल पनि सायद प्रतियोगिताको उत्कृष्ट व्यक्तीगत गोल थियो । 
अफ्रिकी महादेशबाट प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउने टिमका लागि पनि यो विश्वकपमा गौरव गर्ने ठाउ पर्याप्त रहे । कोटे डी आइभोरीले दुवै खेल हारे पनि अर्जेन्टिना र नेदरल्यान्ड्सलाई कडा दबावमा राख्यो । एङगोलाले मेक्सिको र इरानसँग बराबरी खेल्यो । यसैगरी स्टेफन एपिया र माइकल इसेनको नेतृत्वमा रहेको आक्रामक घानाले ब्राजिलसँग अन्तिम १६ मा पराजित हुनुअघि समुह चरणमा चेक गणतन्त्र र अमेरिकालाई पराजित गर्याे।

प्रतियोगितामा पहिलो पटक सहभागिता जनाइरहेको ट्रिनिडाड एण्ड टोबागोले स्विडेनलाई गोलरहित बराबरीमा रोक्नुका साथै इक्वेडरले पोल्यान्ड र कोस्टा रिकालाई हराएर दोस्रो चरण प्रवेश गर्नुले पनि प्रतियोगितामा सनसनी मच्चाएका थिए । इक्वेडर विश्वकपको दोस्रो चरण प्रवेश गरेको यो पहिलो अवशर थियो । लामो समयपछि विश्वकपमा पुनरागमन जनाएको अस्ट्रेलियाले जापानसँग उत्कृष्ट पुनरागमन जनाउने क्रममा अन्तिम १० मिनेटमा तीन गोल गरेर दोस्रो चरणमा स्थान सुरक्षित ग¥यो भने स्विटजरल्यान्डको रक्षापंक्तीले पनि प्रतियोगितामा तहल्का मच्चायो। 

पक्कै पनि विश्वकपको यो संस्करणले धेरैलाई निराश पनि बनायो । रोनाल्डोले विश्वकपमा सर्वाधिक १५औं गोल गरे पनि उनीलगायत ब्राजिलका स्टार नामहरु क्वार्टरफाइनलभन्दा अगाडि बढन सफल भएनन । सवै स्टार खेलाडीको साथ रहेको इङल्यान्डको भाग्य पनि त्यस्तै रहयो । एसियाली टिमहरुले २००२ को जस्तो नतिजा ल्याउन नसक्दा चाढै घर फर्किए । समुह चरणमा झै नकआउट चरणमा धेरै गोल भएनन, जसका कारण १९९० पछि जर्मनी २००६ मा सवैभन्दा कम गोल भयो । युक्रेनले क्वार्टरफाइनलसम्मको यात्रा गरेर इटालीलाई बाटो छोडिदियो, कानाभारो र उनका सहकर्मीले उपाधि नै उचालेपछि युक्रेनले पनि क्वार्टरफाइनलमा भोगेको पराजयमा पछुताउनु परेन।

इतिहासकाे पानाबाट

२००६ जर्मनी (१८औ विश्वकप)

टिमः ३२
कहिलेः २००६ जुन ९ देखि २००६ जुलाई ९ सम्म

फाइनलः २००६ जुलाई ९ 
 खेलः ६४

जम्मा गोलः १४७ (प्रतिखेल २.३ को औसतमा)
दर्शकः ३३५९४३९ (प्रतिखेल ५२४९१ को औसतमा)

विजेताः इटाली
उपविजेताः फ्रान्स

तेस्रोः जर्मनी
चौथोः पोर्चुगल

एडिडास गोल्डेन बल विजेताः जिनेदिन जिदान (फ्रान्स)

एडिडास गोल्डेन सु विजेताः मिरोस्लाभ क्लोज (जर्मनी)

उत्कृष्ट गोलकिपरः जियानलुईजी बुफोन (इटाली)

उत्कृष्ट युवा खेलाडीः लुकास पोडोलस्की (जर्मनी)

फिफा फेयर प्ले पुरस्कारः स्पेन, ब्राजिल 

 

यसमा तपाईको मत