वाहबी खाजरी (ट्युनिसिया)

फिचर खेलाडी
बिहिबार, २४ जेठ २०७५, ११ : ५५ नागरिक

नाम : वाहबी खाजरी

जन्म : फेब्रुअरी ८, १९९१ (अजासियो, फ्रान्स)

क्लब : बास्टिया, बोर्डेउक्स, सन्डरल्यान्ड, रेनेस (लोन)

आक्रामक मिडफिल्डर वाहबी खाजरी बितेको सिजन २०१७–१८ मा करियरकै उत्कृष्ट फर्ममा थिए । ट्युनिसियालाई १२ वर्षपछि विश्वकपमा फर्काउन फ्रेन्च लिग वानको टोली रेनेसका लागि बितेको सिजन सनसनीपूर्ण प्रदर्शन गरेका खाजरीको भूमिका महत्वपूर्ण थियो।

छनोटको दोस्रो चरणमा उनले माउरिटानियाविरुद्ध महत्वपूर्ण गोल गरेका थिए भने २०१६ नोभेम्बरमा लिबियाविरुद्ध उनको विजयी गोल टिमको यात्राका लागि विशेष थियो।

२००९ देखि यु–२० राष्ट्रिय टिमबाट खेल्दै ट्युनिसियाको जर्सी लगाएका उनले सिनियर टिममा भने २०१३ मा मात्र मौका पाएका थिए । २०१३ को अफ्रिकन कप अफ नेसन्सका लागि बोलाइएयता खाजरी ट्युनिसियाको राष्ट्रिय टोलीमा नियमित रहँदै आएका छन् । पाँच वर्षे अन्तर्राष्ट्रिय करियरमा २७ वर्षे खाजरीले राष्ट्रिय टोलीका लागि ३६ खेल खेल्दै १२ गोल गरेका छन्।

लामो समयपछि विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा पुनरागमन जनाएको ट्युनिसियाले रूसमा खाजरीबाट उच्च प्रदर्शनको अपेक्षा गर्नेछ । आक्रामक मिडफिल्डरका रूपमा मैदान उत्रिँदा फरवार्डलाई गोलका अवसर सिर्जना गर्नुका साथै आफैँ पनि लामो दूरीबाट कडा सटमा गोल गर्ने उनको कलाले रूसमा निरन्तरता पाए टोली नकआउट चरण पुग्ने अपेक्षा गरिएको छ।

यसमा तपाईको मत