जिनेदिन जिदान (फ्रान्स)

फिचर खेलाडी
आइतबार, २० जेठ २०७५, १४ : २५ नागरिक

१९३० को पहिलो विश्वकपदेखि नै सहभागिता सुरु गरे पनि फ्रान्सले उपाधि जित्नका लागि धेरै लामो प्रतीक्षा गर्नुपर्याे। विश्वकप सुरु भएको ६८ वर्षपछि पहिलो पटक फ्रान्सले विश्व च्याम्पियन बन्ने सौभाग्य प्राप्त गर्याे । घरेलु मैदानमा १९९८ को विश्वकप आयोजना गर्दा फ्रान्सले फाइनलमा ब्राजिललाई निराश पार्दै उपाधि जितेको थियो।

रोनाल्डोप्रेरित ब्राजिलविरुद्धको फाइनलको पहिलो हाफमै जिदानले कर्नरबाट आएका दुई बललाई हेडमार्फत उस्तै तरिकाले गोल गरेर फ्रान्सलाई प्रभावशाली अग्रता दिलाएका थिए । दोस्रो हाफमा इमानुयल पेटिटले अर्को गोल थपेपछि ब्राजिलमाथि ३–० को नतिजा निकाल्दै फ्रान्स पहिलो पटक विश्वकपको उपाधि उचाल्न सफल भएको थियो।

१९९४ मा चेक गणतन्त्रविरुद्ध खेल्दै राष्ट्रिय टोलीका लागि डेब्यु गरेका जिदानले पहिलो खेलमै प्रभाव जमाएका थिए । सुरुमै दुई गोल खाइसकेको फ्रान्सका लागि जिदानले दुई गोल गरेर २–२ को बराबरी नतिजा निकालेर आफ्नो डेब्यु सार्थक बनाएका थिए । विश्व फुटबल इतिहासकै सर्वोत्कृष्ट प्लेमेकरमध्ये एक मानिने जिदानकै प्रेरणामा फ्रान्सले दुई वर्षपछि युरो २००० को उपाधि जित्यो । त्यसअघि युरो १९९६ मा टोली सेमिफाइनल पुग्दा पनि जिदान टोलीका मुख्य खेलाडी थिए।

तर २००२ मा उपाधि रक्षाको लक्ष्यसहित विश्वकपका लागि गरेको एसियाको भ्रमण भने जिदान र उनको फ्रान्सका लागि सुखद रहेन । पहिलो खेलमै सेनेगलसँग पराजित टोली समूहचरणबाटै बाहिरियो । विश्वकप इतिहासमै फ्रान्स समूहचरणबाट बाहिरिने पहिलो साबिक विजेता बनेको थियो । जुन पीडा मेटाउन टोलीले २००६ मा जर्मनीमा सम्पन्न विश्वकपको फाइनलसम्म यात्रा गर्याे । तर इटालीविरुद्धको फाइनल पनि फ्रान्सका लागि सुखद रहेन।

जिदान करियरको अन्तिम खेलमा फ्रान्सलाई दोस्रो पटक उपाधि जिताएर बुट थन्क्याउन चाहन्थे । त्यहीअनुरूप उनले पेनाल्टीमा गोल गर्दै फ्रानसलाई अग्रता पनि दिलाए । उनी विश्वकपका दुई फाइनलमा गोल गर्ने चौथो खेलाडी बनेका थिए । तर केहीबेरमै मार्को माटेराजीले इटालीका लागि बराबरी गोल गरे । पहिलो हाफकै इन्जुरी समयमा पनि उनी गोलको नजिक पुगेका थिए । तर उनको खतरनाक हेड प्रहार इटालीका गोलकिपर जियानलुइजी बुफोनले बचाए । बराबरीको खेल अतिरिक्त समयमा धकेलियो । जहाँ १ सय १०औं मिनेटमा माटेराजीलाई हेडबट गरबवापत करियरकै अन्तिम खेलमा जिदानले रातो कार्ड सामना गर्नुपर्याे । जसका कारण आफ्नै प्रभावमा टोलीलाई फाइनलसम्म पुर्याए पनि उनी पेनाल्टी सुटआउटमा सहभागी हुन पाएनन् । इटालीले नतिजा ५–३ ले पक्षमा पार्याे।

विश्व फुटबलकै एक महान खेलाडी जसले व्यावसायिक फुटबलमा क्लब र देशका लागि सम्भव सबै उपाधि जिताए । उनको करियरको अन्त्य रातो कार्डसँगै भयो । तथापि विश्वकपमा फ्रान्सलाई उपविजेतासम्म बनाउन गरेको उच्च योगदानका आधारमा जिदान प्रतियोतिगाको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए।

यसमा तपाईको मत